पिच रोडका गायकले पुरानो राष्ट्रगान गाएपछी सर्बत्र बिरोध

0
46

 

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य समितिले अयोजना गरेको नेपाल फेष्टिभलमा गायक समिर आचार्यले हट्ने हैन बोलको गीत गाएपछि यतिबेला यसको औंपचारिक विरोध सुरु भएको छ । साउण्ड ट्रयाकमा नै पूर्वतयारीसाथ गाईएको गीतमा “जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ” भनिएको छ । यो गीत पञ्चायती व्यवस्थाको बेला राजसंस्थालाई एकताको प्रतिक मानेर रचना गरिएको र सरकारी तवरमै सबै विद्यालय, औपचारिक समारोहहरुमा गाइने गीत थियो । नेपालमा गणतन्त्र आएपछि भने यसलाई औपचारिक कार्यक्रमहरुमा गाउन र बजाउन रोकिएको थियो । आयोजक एनआरएन अष्ट्रेलियाले यस्तो गीत गाउनका लागि कसरी स्वीकृति दियो अनि आयोजककै भनाई अनुसार वीसौं हजार दर्शकको अगाडि यसलाई जोड दिइ दिई किन प्रस्तुत गरियो भन्ने यतिबेला प्रश्न उब्जिएको छ । गायक समिर आचार्यको तर्फबाट कुनै औपचारिक भनाई आएको छैन । एनआरएन अष्ट्रेलिया पनि मौन देखिन्छ । उता नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रेलियाले यसको विरोध गरेको छ । “नेपालमा भएको परिवर्तनको विरोध गर्ने छुट कसैलाई छैन । नेपालको संविधान जसलाई जनताले अनमोदन गरेका छन् त्यसका खिलाफमा एनआरएन जस्तो संस्था लाग्नु पक्कै पनि दुखद हो”, महासंघले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जनाएको छ । यस्तै प्रवासी नेपाली एकता मञ्चले पनि योजनाबद्ध तरिकाले हरेक नेपाली संघसंस्थामा घुसपैठ गर्ने र परिवर्तनलाई संस्थागत हुन नदिने योजना अन्तर्गत नै अष्ट्रेलियाको सिड्नीमा राजारानीको गुणगान गाएको जनाएको छ । यस कार्यको औपचारिक विरोध नै गर्ने तयारी भइरहेको पनि संस्थाका एक पदाधिकारीले एमएनटीभीलाई बताए । नेपालको झण्डा प्रयोग गरेर, नेपाली दूतावाससँगको र महावाणिज्यदूत कार्यालयको समेत सहभागितामा आयोजना गरेको नेपाल फेष्टिभलमा नेपालको संस्थागत परिवर्तनको विरोध हुनुले धेरै गम्भीर प्रश्नहरु उब्जाएको छ ।

 

 हेर्नुहोस् भिडियो

 

LEAVE A REPLY